मधुगंगा विद्यालय

मेरो भनाई

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसंस्कार र संस्कृति युक्त राज्य हो। यसै राज्यको पूर्वी भेग अरुण र तमोर नदी बिचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको एक सिमान्तकृत आदिवासी जनजाति  “आठपहरिया” जाति हो। सिमान्तकृत अवस्थामा रहेको यस जातिको वसोवास मुख्यतः धनकुटा नगरपालिका साथै हालै नगरपालिका घोषण गरिएका गाविसहरू भीरगाउँ र बेलहारामा पाईन्छन्। यस जातिको भाषा, धर्म संस्कार र संस्कृति जर्गेना गर्न प्रमुख चुनौतीको रुपमा रहेको छ। हालसम्म यस जातिको आफ्नो लिपि पत्ता लाग्न नसकिरहेको अवस्था र भाषा संस्कृति समेत लोपोन्मुख अवस्थामा रहेको पाइन्छ।

यस जातिको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति रहेता पनि संरक्षण र सम्वर्द्धन हुन नसकी लोपोन्मुख अवस्थामा पुगेको पाईन्छ। आठपहरिया भाषा कथ्य भाषामा मात्र रहेको पाईन्छ र लेखन भाषामा आफ्नो लिपि नरहेको पाईन्छ। हाल आएर थोरै भएपनि देवनागरी लिपिको प्रयोगगरी “आठपहरिया भाषा” को व्याकरण लेखन गरी अध्ययन अध्यापन गरिदै आएको छ। शिक्षा विभाग, शिक्षा मन्त्रालय, नेपाल सरकारबाट कक्षा ५ सम्म मातृभाषामा शिक्षा प्रदान गर्ने अवसर प्रदान गरिएता पनि धेरै लोपोन्मुख अवस्थामा रहेका भाषाहरूको “शब्दकोश” नहुँदा अध्ययन अध्यापनमा सोचे जस्तो उपलब्धी प्राप्त भईहरेको छैन।

शब्दकोश निर्माण एक जटिल कार्य भएकोले यो सानो-तिनो प्रयासको प्रतिफल हुन सक्दैन। सीमित स्रोत र साधनका बाबजुद विविध परिस्थितीहरूसँग जुझ्दै “आठपहरिया भाषा” को शब्दकोश निर्माणले यस जातिको भाषाको विकासका साथै संरक्षण र सम्वर्द्धनको लागी एक कोशेढुङ्गा सावित हुनेछ। शब्दकोश निर्माणले आठपहरिया भाषी तथा गैर-भाषी र भाषा सिक्न चाहाने व्यक्तीहरूको लागी विविध सूचना प्राप्त गर्न उपयोगी साधन हुनका  साथै लोप हुनबाट जोगाउन र भाषाको विकास, संरक्षण र सम्वर्द्धनमा सहयोगी बनी भाषा, धर्म, संस्कार र संस्कृति सम्बन्धी विविध पुस्तक तथा लेख रचनाहरू निकाल्न सहयोग मिल्नेछ।

अन्त्यमा, लोपोन्मुख अवस्थामा रहेको आठपहरिया भाषालाई जिवन्त प्रदान गर्न “शब्दकोश” निर्माण गर्न सहयोग पुर्‍याउनु हुने संघ संस्था र महानुभावहरूलाई हृदयदेखि नै कृतज्ञता ज्ञापन गर्दछु।

प्रेम आठपहरिया

प्रधानाध्यापक

श्री मधुगंगा प्राथामिक विद्यालय

धनकुटा, भिरगाउँ, बैरे