सम्पादकीय

सम्पादकीय ...

 

शुरुमा 'दुमी शब्दकोश निर्माण' बारेमा कुरो उठ्दा के के न गरौँला, कत्ति न लेखौँला र कस्तो न बनाउँला भन्ने कोरा कल्पनामा मन खुबै हौसिने गर्थ्यो। शब्दकोश निर्माणको दुनियामा संसारै जितिएला झैगरि सुर पनि चढ्थ्यो। अनि ‘घिउ न तेल, पकाइ खाऊँ’ सेल जस्तो गरी तात्तातै दुमी शब्दकोश बनाइ हाल्ने काँचो रहर पनि जाग्थ्यो। तर यस बीचमा के गरौँ - के नगरौँ, कसरी अगाडि बढौँ र कस्तो पो बनाउँ, यसो गरे कि उसो गरे राम्रो होला? भन्दाभन्दै आधा दशक त यसै गलिसकेछ नै। लाग्छ, आज हामीमा उत्कट अभिलाषा भएरपनि पर्याप्‍त अनुभव, सग्लो ज्ञान र स्पष्‍ट दृष्‍टिकोणको अभावमा ब्रम्हाले देखेसम्म अनि ह्‍याउ र हुतिले भेटेसम्म ताहुर-माहुर गर्दागर्दै पनि मेलो सर्दै सरेन र यतिका समय भड्कियो पनि।

आज यसो विचार गरिहेर्दा जे, जसरी, जस्तो गरौँला भन्ठानेका थियौँ; त्यो, त्यसरी, त्यस्तो चाहिँ गर्न त सकिएनछ कि कसो नि ! भनेजस्तो पनि मनमा लाग्दो नै रहेछ। मानौ, यस बिचमा हर्षै-हर्षको मुखेन्जी फुच्‍चे बिस्मातले दाह्रा किटेजस्तो, रमाईलो यात्रामा साघुँरो जुत्ताले हण्डर खेपाए जस्तो, अनि भोट-पर्देश गर्दाको बखत पिठ्यूँमा पिलो आएर ढाँडमा ढाकर बोक्‍न कर परेजस्तो। किन्तु तिनै साह्रो-गाह्रो बीच निर्धारित समयमा शब्दकोश प्रकाशनको निर्दिष्ट गन्तव्यमा पुग्‍न हामीले यात्रा सोझ्याउनु नै थियो र सकी नसकी, जानी-नजानी, भ्याइ-नभ्याइ एक चित्तले सोझ्याउन कोशिश गर्‍यौँ पनि।

उहि त हो नि, सास रहेसम्म आश पलाएसिन, “हजारौँ माइलको यात्रा एक पाइलोबाटै शुरु हुनेनै भयो।” हो, हामीले पनि त्यसै गर्‍यौँ, जान-अन्जानमै भएपनि शुन्यबाट नै शुरू गर्‍यौँ। लोपोन्मुख दुमी भाषाको प्राण धान्न सकिन्छ भन्ने विश्‍वासमा अडिएरै विषय वस्तुको उठान गर्‍यौँ, घर-सल्लाहबाटै कामको थालनी पनि गर्‍यौँ। सामूहिक प्रयास बीच साझा संस्था ‘दुकिराफ’ को पहलमा आ-आफ्ना रूची र दक्षता अनुरूप दुमीशब्द तथा आर्थिक संकलनको कामलाई एकैसाथ अगाडि बढायौँ। ‘गाउँदेखि शहर: एउटै लहर’ कहिँकतै कुनै साल देउसी-भैलोमा दुमी शब्दकोशको गाथा भट्याउन छाड्दै-छाडेनौँ, सम्बन्धित ठाउँमा लोपोन्मुख मातृभाषा 'दुमी' को स्तुतीगान गाउँदा श्रद्धाका साथ बर्सेको दान-दक्षीणालाई हार्दिक्ता पूर्वक पोको पारी शब्दकोशको नाममा ढुकुटी भर्ने सुकर्ममा चुक्‍ने त झन कुरै भएन। मानौ, ‘सीत उघाई घैला भर्नु’ सिवाय अरू कुनै उपाय थिएन हामी सामु।

लेख्य परम्पराउन्मुख दुमी भाषाको विकासमा शब्दकोश प्रकाशन अपरिहार्य भइसकेको सबैले महसुस गरेकै कुरो हो। जसबाट दुमी भाषामा पठन-पाठनको लागि कोशेढुङ्गा स्थापना गर्न सकिने पनि स्पष्‍ट छ। शब्दकोश निर्माणको सिलसिलामा सुनेसम्म, देखेसम्म र भेटेसम्मका दुमी शब्दहरू संकलन गर्ने सुकर्ममा हामी सबैले हातेमालो गरेरै सम्पन्न गरि छाड्‍यौँ। यस महत्त्वपूर्ण कामको लागि विशेषत: खार्मी, जालपा, बाक्सिला, सप्‍तेश्‍वर, माक्पा आदि क्षेत्रहरूका अतिरिक्त सुनसरी (धरान) र काठमाडौंबाट संकलन गरिएको छ। तत्पश्‍चात् तत् क्षेत्रका दुमीबक्ताहरूबाटै कोरा तथ्याङकलाई सच्याउने, सुधार्ने र आ-आफ्नो क्षेत्रका सम्पादकहरूद्वारा सम्पादन गर्ने काम समेत गरिएको छ।

शब्दकोशलाई अरू बढी उपयोगी बनाउने प्रयास स्वरूप सबै क्षेत्रका कतिपय क्रियाहरूको रूपायन सहित वाक्यमा प्रयोग समेत गरिएको छ। सात हजार आठ सय अठहत्तर (७,८७८) मुल प्रविष्‍टि (Head entry) सहितको यो मझौला वर्गको शब्दकोशले भावी दुमी पुस्ताका लागि समेत अरू ठूला र व्यवस्थित शब्दकोश निर्माण एवं दुमी भाषामा विभिन्न विधाका पाठ्‍य-पुस्तक एवं सन्दर्भ सामग्रीहरू तयार गर्न समेत मद्दत पुर्‍याउने कुरामा आशा गर्न सकिन्छ।

परिणामत: “दुमी शब्दकोश” जुन आज तपाईं हामी सबैको हात र साथमा छ, दिल-दिमागमा सजिएको छ र मन-मस्तिष्कमा पनि छाएकै छ। मानौ, दुमी समुदाय र दुमी किरात राई फन्सीकीमको इतिहासमा यो क्षेण शब्दकोशमय भएको छ र हामीले तन्मयका साथ यो प्रकाशनोत्सवको सारथी बन्ने अवसर पाएका छौँ। जुनसुकै शब्दकोश बन्नु आफैमा ठूलो कुरा नभएर बनाउनु चाहिँ महत्वपूर्ण कुरा हुदो रहेछ नै। झनै बनाउनको लागि तारतम्य मिलाइदिनुहुने, वातावरण जुटाइ दिनुहुने जोसुकै पनि प्रेरणाको श्रोत त ठहरिने भए नै। खुलेरै भन्नुपर्दा- दुमीहरूका साझा संस्था “दुकिराफ”को पहल कदमी र दुमी थातथलोमा सदियौँदेखि बसोबास गरिआउनुभएका र त्यहाँबाट छरिएर मुलुकभित्र र बाहिर बसोबासरत जिम्मेवार दुमी सन्ततीहरूका संयुक्त प्रयासबाट नै यो कामले पूर्णता पाएको छ।

शब्दकोश फुल्दो-फल्दो अवस्थामासम्म ल्याइपुर्‍याउदा हर क्षेत्रका दुमी समुदाय लगायत अन्य अनगिन्ती पक्षहरूबाट समेत पनि यथेष्‍ट साथ-सहयोग मिलेको छ। महत्वपूर्ण राय-सुझाव एवं हौसलालाई पनि यस क्षणमा स्मरण गर्नैपर्ने हुन्छ। जस्मा प्राज्ञिक गुरुद्वय प्रा.डा. नोवल किशोर राई र प्रा.डा. माधव प्रसाद पोखरेलबाट निरन्तर रूपमा पाएको वौद्धिक खुराकका साथ प्रेरणादायी सरसल्लाह, प्रा.डा. विष्णु एस. राई सरद्वारा अङ्‌रेजी भाषातर्फको सम्पादनलाई विषेश मार्गदर्शनको रूपमा लिनैपर्ने हुन्छ।

यसरी नै चित्राङ्कनमा श्री मारियोन (स्वीजरल्याण्ड), प्रविधि संयोजनमा श्री कृष्ण पौडेल, दैनन्य शब्द-सम्पादन तथा कम्प्युटरमा श्री सरिता राई, श्री सुजाता राई; कम्प्यूटर प्रविष्‍टिका साथ मातृभाषा शुद्दाशुद्दीमा मातृभाषीद्वय श्री हर्कशोभा राई (नोरूङ) र श्री गुणराज राई (इलिम); समयानुकूल शब्दकोश सम्पादनको लागि वातावरण जुराइदिने ‘दुकिराफ’ पूर्व कोषाध्यक्ष श्री अशोक कुमार राईज्यू, शब्द संकलन कार्यमा निरन्तर सहयोग पुर्‍याउनु हुने भाषाप्रेमी दुमी सन्ततीहरू सबैजनाको योगदान चीरस्मरणीय छ। यसका साथै बिगतमा विभिन्‍न समयमा व्यक्ति विशेषको पहलमा टिपोट गरिएका दुमी शब्दहरू, विभिन्न समयमा निर्माण गरिएका क्षेत्रगत तथा संयुक्त ‘दुमी शब्द संग्रह’हरू, मातृभाषाप्रेमी दुमीजनबाट विभिन्‍न समयमा उपलब्ध भाषिक स्रोत-साधनहरूको अधिक्तम सदुपयोग नै यस शब्दकोशको आधारस्तम्भ हो भन्दा अन्यथा  नहोला।

मुलत: यस मुलुकका भूमिपुत्र भनाउँदो संस्कृतिप्रेमी किरात मूलका भाषाभाषीहरूले ‘अनिकालमा वीउ र हुलमुलमा जीउ’ का साथै ‘आपतकालमा भाषा र संकटकालमा संस्कृति’ जोगाउनको लागि समेत हामी स्वयं नै जुर्मुराउनु पर्ने बेला आइसकेको चिङ्गे (पूर्वसंकेत) समेत देखापरेको हाम्रो ठम्याई छ। शब्दकोश यथोचित समयमा आउन नसक्‍नुमा यसले जति तिखो आलोचना र कटुवचन सहन परेको होला, त्यो भन्दानि बढी चाहिँ यसले भाषिकागत क्षेत्रीय सन्तुलनकारी भूमिका निर्वाह गर्ने आफ्नो प्रतिवद्धताप्रति निष्‍ठापूर्वक निरन्तर लागि पर्नु यसको सबल पक्ष हो भन्‍ने लागेको छ।

अन्तमा, सम्पादनको अभिभारा सम्हाल्न अघिसरेको हैसियतले भन्नैपर्ने हुन्छ, यो शब्दकोश प्रकाशन आफैमा शुरुवात मात्र भएकाले यसलाई शुद्ध र परिपक्‍व बनाउन सक्दो प्रयत्‍न गर्दागर्दै पनि कतिपय त्रुटी कमजोरीहरूमा अवश्य नै पनि हाम्रो ध्यान पुग्‍न नसकेको हुन सक्छ। शब्दकोशलाई नियाल्दै जाँदा यदि कुनै त्यस्ता गल्तीहरूले आँखालाई बिझाउन र दिमागलाई खिज्याउन पुगेछन् भने पनि तिनलाई औँल्याइदिनु भएमा हामीलाई चिढाउने नभै अझ रिझाउने नै छ भन्ने विश्‍वास दिलाउँन चाहन्छौँ। शब्दकोशको गुणस्तरको खातिर हामीलाई माया गरी पठाइएको अमूल्य सल्लाह-सुझावले आगामी संस्करण अझ बढी फलदायी र परिपक्‍व हुन सकोस्। यस महत्त्वपूर्ण कार्यलाई विद्युतीय माध्यम (website) बाट संसारभर चिनाउन उल्लेखनीय योगदान पुर्‍याउने SIL International संस्था, जस अन्तर्गतको भाषाविज्ञान विभागका निर्देशक श्री मारि-सिस्को खड्गी, कम्प्युटर विशेषज्ञ श्री दिवाकर मान श्रेष्‍ठ प्रति पनि आभार प्रकट गर्दै आवाज रेकर्डिङको लागि प्रविधि-उपकरण उपलब्ध गराई सहयोग पुर्‍याउने MTCN संस्था प्रति पनि कृतज्ञता चढाउँछौं।

दुमीभाषा लेखन तथा मानकीकरणको सवालमा यो शब्दकोश दुमीदेखि गैरदुमी लेखक तथा पाठक एवं शुभचिन्तक सबैका लागि थोरै मात्रपनि उपयोगी हुन सके यो साझा प्रयासको सार्थक्ता झल्किने छ। जसले गर्दा “खाजाबासमा-मसुंपा-फेकुबा- दिखाने-हौंला” (खोटाङ जिल्ला उत्तरी क्षेत्रका १६ वटा गाविसहरू) लगायत देश विदेशमा छरिएर रहेका एक्‍काईसै पाछा (हरहरं-छारिमु-रावाहख-वाजितु-सहसह-खादिलु) का हरदुमीजनमा आत्मगौरव बढाउँने छ। यस शब्दकोश मुद्रणको चरण पार गरिसके लगत्तै ‘दुमी व्याकरण निर्माण’ तर्फ हाम्रो गन्तव्य सोझिने यथार्थलाई पनि यसैसाथ उल्लेख गर्नु मनासिव ठानेका छौँ। जसको लागि तपाईं हाम्रो साथ अविछिन्न रूपमा कायमै रहने कुरामा विश्‍वस्त छौँ। रह्‍यो कुरा, ‘दुमीराई’ तथा मातृभाषा ‘दुमी इतिवृति’ अनि शब्दकोशको प्रभावकारी प्रयोगको बारेमा। जुन चाहिँ पछिल्ला पृष्ठहरूमा सविस्तार वर्णन गरिएको व्यहोरा अनुरोध छ।