मुस्ताङी राजा

शुभकामना

ल्होवा ( लोवा, ल्होपा) भाषाको शब्दकोश प्रकाशन हुँदैछ भन्‍ने सुन्‍दा मलाई खुशी लागेको छ। अहिलेको विश्‍वमा हरेक विकासको साथसाथै, विभिन्‍न सुचना प्रविधिले हाम्रा मौलिक भाषा तथा संस्‍कृतिहरू संकटमा परेको अवस्‍था तपाई हाम्रो सामु प्रष्‍टै छ। यस्‍तो अवस्‍थामा अन्‍य विकासको साथसाथै भाषा तथा संस्‍कृतिको पनि विकास हुन उत्‍तिकै खाँचो भएको मैले महसुस गरेको छु। यस्‍तो अवस्‍थामा ल्होवा भाषाको संरक्षण र सम्‍वर्द्धन गर्नमा यस शब्‍दकोशले महत्‍वपुर्ण भूमिका खेल्‍नेछ भन्‍ने मेरो आशा छ।

यो शब्‍दकोशले हाम्रा भावी युवा पुस्‍ताहरूलाई आफ्‍नो भाषा-संस्‍कृतिको बारेमा बुझ्‍न, ल्‍होवा (लोवा) भाषा लेखन प्रणाली विकास गर्न साथै आफ्‍नो भाषामा विभिन्‍न पाठ्‍य सामग्री तयार गर्नमा ठुलो सहयोग पुग्‍ने छ भन्‍ने विश्‍वास छ।

अन्‍त्यमा, यस शब्‍दकोश निमार्णका लागि आफ्‍नो अमुल्‍य समय दिनु हुने सम्‍पुर्ण व्‍यक्तिहरूको साथै शब्‍दकोश निर्माणमा व्‍यवस्‍थापन गर्न आदिवासी जनजाति उत्‍थान राष्ट्रिय प्रतिष्‍ठान लगायत यस शब्‍दकोश तयारीमा संलग्‍न अन्‍य संघ-संस्‍थाहरूलाई पनि धन्‍यवाद दिन चाहन्‍छु। साथै यस ‍शब्‍दकोशको जन्‍म संगसंगै सम्‍पूर्ण ल्‍होवा समुदायको सुख, शान्‍ति तथा समृद्धिको हार्दिक शुभकामना समेत व्‍यक्‍त गर्दछु।

झिग्मी पलबर बिष्ट

मुस्ताङी राजा

लोमन्थाङ, उपल्लो मुस्ताङ