परिचय

नेपाल देश विश्‍वमा आदिमकाल देखि नै विभिन्‍न जात, भाषा, धर्म, संस्‍कृति, संस्‍कार र परम्‍पराले सम्‍पन्‍न मुलुक हो। यहाँ हरेक जाति र प्रजातिहरूको आ–आफ्‍नै जात, भाषा, धर्म, संस्‍कृति, संस्‍कार र परम्‍पराहरू छन्। जसरी अन्‍य जातिहरूको आ–आफ्‍नै जात, भाषा, धर्म, संस्‍कृति, संस्‍कार र परम्‍पराहरू छन्। त्‍यसरी नै विशेषतः नेपालको पूर्वी पहाडी संखुवासभा जिल्‍लाको पाङ्मालाई केन्‍द्रबिन्‍दु बनाएर त्‍यस आसपासमा बसोवास गर्ने हामी लोहोरूङ् जातिहरूको पनि आफ्‍नै जात, भाषा, धर्म, संस्‍कृति, संस्‍कार र परम्‍पराहरू छन्। तर हाम्रो पहिचान र पुख्‍यौली सम्‍पत्तिको रूपमा रहेका यी कुराहरूलाई विभिन्‍न कारणवश हामीले समय सापेक्ष यसको विकास, संरक्षण, सम्‍वर्द्धन र प्रवर्द्धन गर्न सकिरहेका छैनौं। परिणामतः दिनानु दिन हाम्रो भाषा, धर्म, संस्‍कृति, संस्‍कार र परम्‍पराहरू लोप भइरहेको अवस्‍था छ। हामी कोही कसैले पनि यी कुराहरूको समयमा नै विकास, संरक्षण, सम्‍वर्द्धन र प्रवर्द्धनमा ध्‍यान नदिने हो र यही गतिमा लोप हुने अवस्‍था रहिरहने हो भने, अबको दुईचार पुस्‍तापछि हाम्रो भाषा, धर्म, संस्‍कृति, संस्‍कार र परम्‍पराहरू खोज्‍दा पनि नभेटिने गरी हामीबाट अलबिदा भएर हराउन वा बिलाउन पनि सक्‍छ।
यही कुराहरूलाई ध्‍यानमा राखि, उल्‍लेखित कुराहरू मध्‍ये पनि द्रूत गतिमा लोप भएर गइरहेको लोहोरुङ् भाषालाई थोरै मात्रामा भएपनि जगेर्ना, विकास, संरक्षण, सम्‍वर्द्धन र प्रवर्द्धन गर्न सकिन्‍छ कि भन्‍ने ध्‍येयले नेपाल प्रज्ञा प्रतिष्‍ठान, त्रिभुवन विश्‍वविद्यालय भाषा विज्ञान केन्‍द्रिय विभाग, एसआइएल इन्‍टरनेशनल र आदिवासी जनजाति उत्‍थान राष्‍ट्रिय प्रतिष्‍ठानको संयुक्त तत्‍वधानमा आयोजित विभिन्‍न कार्यक्रम, कार्यशाला, गोष्‍टी र भेलाहरूमा धेरै भन्‍दा धेरै लोहोरूङ् भाषी महानुभावहरूसगँको लामो छलफल, परामर्श र सल्‍लाहहरूलाई समेटेर यो लोहोरूङ् शब्‍दकोष तयार पारिएको छ।
यो शब्‍दकोषलाई हरसम्‍भव सरल, शुद्ध र स्‍पष्‍ट बनाउने प्रयास गरेका छौं। तर अझैपनि धेरै कमी, कमजोरी, भुल, गल्‍ती र त्रुटिहरू छन् भन्‍ने कुरामा दुईमत छैन। उक्त कमी, कमजोरी, भुल, गल्‍ती र त्रुटिहरूलाई यहाँहरूकै अमूल्‍य सुझाव, सल्‍लाह र परामर्शहरूबाट सच्‍याउने प्रतिबद्धता व्‍यक्त गर्दछौं।

श्री उराश लोहोरुङ् राई
पाङ्मा, संखुवासभा