परिचय

नेपाल बहुजाती, बहुभाषी मुलुक हो। संयुक्त राष्‍ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्‍कृतिक संगठन (UNESCO) ले नेपालमा १४० भाषाहरू रहेको बताएको छ। तर राष्‍ट्रिय जनगणना २०६८ को पछिल्‍लो तथ्‍याङ्क अनुसार नेपालमा जम्मा १२३ भाषाहरू रहेको जनाएको छ। राष्‍ट्रिय भाषा नीति सुझाव आयोग १९९४ ले लेख्‍य परम्‍पराको आधारमा भाषालाई ४ समूहमा वर्गीकरण गरेको छ: (१) लेख्‍य परम्‍परा भएका भाषाहरू, (२) लेख्‍य परम्‍परा उन्‍मुख भाषाहरू, (३) वक्ता मात्र भएका भाषाहरू, र (४) लोपोन्‍मुख भाषाहरू। यी स्थापित मान्यताका आधारमा थारू भाषालाई लेख्‍य परम्‍परा भएको भाषाको रूपमा लिने गरिन्छ।

उच्‍चारणको विशेषताका आधारमा संसारभरका भाषाहरूलाई जम्मा पाँच समूहमा वर्गीकरण गरेको देखिन्छ। ती हुन् : (क) कुसुन्डा (ख) द्रविड (ग) आग्नेय (घ) भोट बर्मेली र (ङ) भारोपेली।

यी भाषा समूहहरू मध्‍ये थारू भाषालाई भारोपेली भाषा समूह अन्‍तर्गत राखेको पाइन्छ। नेपालका आदिवासी जनजातिहरू मध्‍ये दोश्रो ठूलो सङ्ख्‍यामा रहेको थारू समुदायको जनसङ्ख्‍या १७,३७,४७०, अर्थात् कुल जनसङ्ख्याको ६.५५ प्रतिशत रहेको देखिन्छ। पूर्व मेचीदेखि पश्‍चिम महाकालीसम्‍मका तराई तथा भित्री तराई क्षेत्रमा मुख्‍य बसोबास रहेको थारू जनजाति कैलालि, कञ्‍चनपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत चितवन, नवलपरासी, बारा, पर्सा, रौतहट, सर्लाही, महोतरी, धनुषा, झापा, मोरङ, सुनसरी, सप्‍तरी, उदयपुर र सिरहा, आदि जिल्‍लाहरूमा फैलिएर रहेका छन्। आदिम कालदेखि थारू जातिको सभ्‍यता मौलाएको ऐतिहासिक क्षेत्रलाई थरुहट भनिन्‍छ। आदिवासी जनजातिहरूमध्‍ये दोश्रो स्‍थानमा रहेको थारू जाति हाल आएर नेपालको अधिकांश जिल्‍लाहरूमा छरिएर रहेका छन्। पछिल्‍लो तथ्याङ्क (राष्ट्रिय जनगणना २०६८) अनुसार १५,२९,८७५ जनसङख्या रहेको थारू भाषीहरू नेपालको कूल जनसङ्ख्‍याको ५.८ प्रतिशत र थारू जातिको जम्मा जनसङ्ख्‍याको ८८.०५ प्रतिशत रहेको छ।

भर्खरै मात्र मध्‍य-पूर्वीय थारू भाषाको लेखनशैली एवं शब्‍दकोश तयार भएको छ। सिङ्गो थारू समुदाय अन्तर्गत मध्‍य-पूर्वीय थारू भाषा समूहमा १२ वटा जिल्‍लाहरूमा रहेका छन्। ती जिल्‍लाहरूमा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्‍तरी, उदयपुर, सुनसरी, मोरङ र झापा रहेका छन्। यी जिल्‍लाहरूमध्‍ये झापा, धनुषा र महोत्तरीमा थारूहरूको जनसङ्ख्या थोरै छ भने अन्य जिल्‍लाहरूमा अलि बढी छ। जस्‍तै:- झापा (९९८३), धनुषामा (४४२२), महोतरी (९९०९), मोरङ (६०५६६), सुनसरी (९१५००), सप्‍तरी (७३६९७), उदयपुर (२४२४०), सिरहा (२६३८६), सर्लाही (२१७७८), रौतहट (३०८११), बारा (७१९९३) र पर्सा (४५६२०) रहेका छन्। यसरी समग्रमा हेर्दा मध्‍य-पूर्वीय थारू भाषाको क्षेत्रमा कूल जनसङ्ख्‍या ४,७०,९०५ रहेको छ।

 

-सन्त कुमार चौधरी

सिरहा