नेपाल प्राकृतिक रूपले मात्रै हैन विभिन्न जातजाति र भाषाभाषीहरूले भरिएको साँस्कृतिक रूपले पनि अति सुन्दर देश हो। नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनेर अन्तरिम संविधान २०६३ ले पनि बताएको छ। मातृभाषाहरू राष्ट्रभाषा भएकाले राष्ट्रको सम्पत्ति हो। यसको संरक्षण र विकासले राष्ट्रको साँस्कृतिक विकासलाई दर्शाउँछ। देशले आधुनिक लोकतन्त्रको अनुभवहरूलाई कुनाकुनासम्म अभ्यास गरिरहेको अवस्थामा मातृभाषाहरूको उन्नतिको लागि केही कुरा लेख्नु, केही बोल्नु र सकेसम्म प्रकाशन गर्नु आधुनिक लोकतन्त्रको अभ्यासमा समावेशी कदमको निम्ति टेवा दिने कार्य हो।
मातृभाषा केन्द्र नेपालले मातृभाषा विकासका लागि विभिन्न कार्यक्रमहरू गरी विभिन्न समुदायहरूलाई भाषा विकासमा सहायता पुर्याउँदै आएको छ।
हालै आएर यसले पश्चिमी तामाङ भाषाको शब्दकोश प्रकाशन गरेर समुदाय विकासमा सहभागी भई राष्ट्र निर्माणमा सहयोगी भएको महसुस गरेको छ। भाषा भन्ने कुरा जाति र समुदायको पहिचान हो र जाति र समुदाय सिङ्गो राष्ट्रकै पहिचान हो।
सामान्यतया कुनैपनि भाषामा भेटिने लघुतम रूपखण्ड वा रूपिमहरूलाई भेला गरेर ध्वनि र त्यसको अर्थ लगाउन थालिएपछि त्यस भाषाको शब्द निर्माण प्रक्रिया (Lexicon) को सुरुवात हुन्छ (ट्रगट र प्राट)। तर भेला गरिएका सबै लघुतम रूपखण्डहरूको सूची शब्दकोशको निम्ति भने नचाहिंदो थुप्रो (Redundance) हुन जान्छ। त्यसैले दैनिक रूपमा बोलिने सबै शब्दहरूलाई शब्दकोशको मूल प्रविष्टिमा राखिंदैन तर भाषालाई व्याख्या गर्ने भाषाविज्ञानका अन्य विधाहरूको लागि पनि खुला राखिन्छ। ध्वनिको साधारण विचलन हुँदाहुँदै पनि अर्थ समान रहेमा त्यति ठूलो समस्या रहँदैन। तर समान ध्वनिको अर्थ अर्काअर्कै लागेमा ध्वनि ग्रहणकर्ताहरूले साझा वस्तु मान्न तयार हुँदैनन्। जस्तो कि, ‘होप्’ भनियो भने लिम्बूहरूको निम्ति ‘छैन’ भन्ने अर्थ लाग्छ र मन बुझाउनुपर्ने हुन्छ, तर अङ्ग्रेजहरूको निम्ति त ‘आशा’ हुन्छ र पर्खिनुपर्ने कुरा बन्छ होला। फेरि त्यही ‘होप्’ रामेछापका स्युबाहरूले चाहिँ ‘खाल्डो’ पो बुझ्छन् अनि आठपहरिया राईहरूको लागि चाहि चिन्डो भन्ने अर्थ लाग्दो रहेछ।
यस शब्दकोशको सम्बन्धमा कुरा गर्दा भौगोलिक रूपमा विभिन्न स्थानहरूमा छरिएर रहेतापनि अनि विभिन्न स्थान र परिवेशमा बोल्य भाषाको भेदहरू भएतापनि यस शब्दकोशमा विशेषगरी धादिङ, नुवाकोट, रसुवा, कञ्चनपुर, लमजुङ र गोरखा आदि क्षेत्रहरूमा बोलिने तामाङ भाषालाई एउटै कोशको रूपमा सङ्कलन गरिएको छ।
यस शब्दकोश निर्माणमा लागिपर्ने साना ठूला हरेक व्यक्तिहरू तारिफयोग्य व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूलगायत एसआईएल इन्टरनेशनल, मातृभाषा केन्द्र नेपाल र विभिन्न विज्ञ तथा प्रशिक्षकहरूको संयुक्त प्रयासबाट बनिएको यस शब्दकोशले भविष्यमा पश्चिमी तामाङ भाषाको विकासको काममा गहन भूमिका निर्वाह गर्नेछ भन्ने आशा लिएको छु, साथै अन्य स्थानहरूमा बोलिने तामाङ भाषाको तुलनात्मक अध्ययनमा पनि यो शब्दकोश एउटा सहयोगी सामग्री बन्न सक्ने कुरामा पनि म आशावादी छु। धन्यवाद!
सुशील सुब्बा
निर्देशक, मातृभाषा केन्द्र नेपाल
ललितपुर