दुई शब्द

नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, लमजुङ र कञ्चनपुरमा बसोबास गर्ने तामाङहरूले बोल्ने भाषालाई पश्‍चिमी तामाङ भाषा भनिन्छ। चिनियाँ–भोट परिवार अन्तर्गतको भोट–बर्मेली उपपरिवारभित्रको पश्‍चिमी भोट–बर्मेली शाखा भित्र पर्ने, बोडिश उपशाखाभित्रको, पश्‍चिमी बोडिश हाँगो अन्तर्गत पर्ने गुरुङ–तामाङभित्रको यो भाषामा २४ ओटा व्यञ्जन वर्ण र ५ ओटा स्वर वर्ण छन् (Ethnologue Languages of Nepal, 2012)। यो तानयुक्त भाषामा २ ओटा उपसर्ग र ११ ओटा प्रत्ययहरू भएका शब्दहरू पाइन्छन्। यसमा वाक्यको संरचना सामान्यातया कर्ता, कर्म र क्रियाको क्रममा निर्माण भएको पाइन्छ। देवनागरी र तिब्बती लिपिमा लेखिने यो भाषा विद्यालय, रेडियो, पत्रपत्रिका र दैनिक वोलीचालीमा समेत प्रयोग भएको देखिन्छ। सरकारी कामकाज, शिक्षण र सञ्चाारको माध्यम भाषा नेपाली भएको कारणबाट विकसित नेपाली भाषाको प्रभावले यो भाषाको प्रशारण र विकासलाई प्रभावित बनाएको छ। यसबाहेक बजारमुखी अर्थव्यवस्था, विश्वव्यापिकरण र सञ्चारको क्षेत्रमा भएको प्रविधिको विकासले नेपालमा भएका अन्य मातृभाषाहरू झैं यो भाषालाई पनि असुरक्षित अवस्थामा पुर्‍याएका छन्।

मातृभाषाहरूको संरक्षण र विकासको लागि ध्वनिविज्ञान, रूपविज्ञान र वाक्यविज्ञानको आधारमा तिनहरूको अध्ययन हुन जरुरी छ। यी अध्ययनहरूबाट ती भाषाहरूको वर्णमाला, व्या‍करण र शब्दकोशको निर्माण गर्न सकिन्छ। वास्तवमा वर्णमाला, व्याकरण र शब्दकोश मातृभाषा अभिलेखीकरण र लेखाइपढाइको निमित्त अति आवश्यक सामग्रीहरू हुन्। त्यसमा पनि शब्दकोश त झन् मातृभाषी र गैरमातृभाषीहरू दुवैको निमित्त अति नै आवश्यक कुरा हो। तर यी सामग्रीहरू निर्माणका लागि पुस्तकालयीय तथा स्थलगत अध्ययनको जरुरी पर्ने भएकाले अनुसन्धानकर्ताहरूमा अनुसन्धात्मक अभिरुचि, मेहनत र धैर्यताको आवश्यकता पर्दछ। मातृभाषा केन्द्र नेपालबाट ८,००० भन्दा बढी शब्दहरूको मूल प्रविष्टि भएको पश्‍चिमी तामाङ भाषाको द्विभाषिक (तामाङ र नेपाली) शब्दकोश प्रकाशित भएको देख्न पाउँदा म अत्यन्त हर्षित छु। यो शब्दकोश निर्माणको लागि १८०० ओटा अर्थ क्षेत्रमा आधारित विभिन्‍न प्रश्नावलीको निर्माण गरिएको, नुवाकोट, रसुवा, धादिङ (झार्लाङ, री, तिप्लिङ), लमजुङ र कञ्चनपुरलाई कार्य क्षेत्र बनाइएको, ३२ जना सहभागीहरूलाई ४ भन्दा बढी समूहमा विभाजन गरी छलफल गरिएको र शीघ्र शब्द सङ्‌कलन विधिबाट शब्द सङ्‌कलन गरिएको कुरा सुन्‍न पाउँदा यो शब्दकोशका सम्पादक र यो शब्द‍कोश निर्माणमा जुटेका विद्वत वर्गप्रति ममा हार्दिक श्रद्धा जागरण भएको छ र म उहाँहरूलाई यो शब्दकोश सफलतापूर्वक प्रकाशन भएकोमा हार्दिक वधाइ ज्ञापन गर्न चाहन्छु।

मातृभाषी वक्ताहरूको थाकथलोबाट सहभागी गराएर उनीहरूबाट लिएको सूचनाको आधारमा तयार पारिएको यो शब्दकोशको सूचनामा आधिकारिकता र विश्वासनीयता छ। अतः यो भाषा अध्ययन गर्न चाहनेहरूको निमित्त यो शब्द‍कोश अत्यन्तै महत्वपूर्ण हुनेछ। पश्‍चिमी तामाङ भाषाको संरक्षण र विकास गर्ने पवित्र उद्देश्य‍ राखेर यो शब्दकोश निर्माण गर्ने मातृभाषा केन्द्र नेपाल र यसका निर्देशक श्री सुशील सुब्बालाई हार्दिक धन्य‍वाद दिन चाहन्छु।

- प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ

नेपाल र एसियाली अनुसन्धान केन्द्र

त्रिभुवन विश्वविद्यालय

कीर्तिपुर।