मातृभाषा केन्द्र नेपाल र एस आइ एल इन्टरनेश्नलको सक्रियतामा “पश्चिमी तामाङ शब्दकोश” नामक पुस्तक प्रकाशन गर्न लागिरहेको हुँदा मलाई ज्यादै खुसी लागेको छ। नेपाल एक बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृतिक राष्ट्र हो। हरेक जात जातिको भाषा, धर्म, संस्कृति र पहिचानको जगेर्ना गर्नु हामी सबैको दायित्व हो। ऐतिहासिक कालखण्डदेखि नै चार सात छत्तीस वर्णको संज्ञा बोकी आएको देश नेपालमा हाल ६१ जात जातिहरू सुचीकृत भएको तथ्य राष्ट्रिय जनजाति विकास समितिको तथ्यांकमा प्रकाशित भएला छन्। सोही जात जातिको आफ्ना आफ्नै भाषिक समुदाय, भाषा र लिपि छन्। कतिपय भाषाहरू राष्ट्रिय मूलधारमा प्रवेश हुन नपाएको कारण भाषिक समुदायहरू र तिनीहरूको कला, संस्कृति र मौलिक दस्तावेजहरू दिन प्रतिदिन बिस्थापित हुँदै गएका उदाहरणहरू हाम्रो सामु छन्।
“पश्चिमी तामाङ शब्दकोश" मा शुद्ध तामाङ भाषाका शब्दहरू सकंलन भएका पाइन्छ। विशेष गरी नेपालको बहुसंख्यक तामाङ बाहुल्य जिल्लाहरू नुवाकोट, धादिङ, रसुवा,लगायत गोर्खा, लम्जुङ, कन्चनपुर, कैलाली आदि क्षेत्रमा बसोबास गरेको तामाङ जातिहरूको बोलीचालीमा आधारित शब्दहरूको संकलन यस पुस्तकमा समेटिएका छन्। शुद्ध एवं परिष्कृत शब्द सकंलनमा आधारित भएकोले निश्चय नै भाषा सम्बन्धी खोज र अनुसन्धानमा यस पुस्तकले कोशेढुंगा सावित गर्दछ। तसर्थ यो पुस्तक प्रकाशनले पश्चिमी तामाङ भाषाको दुनियांमा एक ऐतिहासिक दस्तावेजको रूप धारण गर्नेछ भन्ने मेरो विश्वास छ। साथै पिछाडिएका एवं लोप हुन लागेका भाषाहरू तथा ऐतिहासिक र संस्कृतिक गाथा बोकेका भाषाहरूलाई थप उर्जाका साथ भाषिक खोज र अनुसन्धानमा अभ्यस्त त्यस संस्थाद्वय मातृभाषा केन्द्र नेपाल र SIL International लाई म यस संस्थाको तर्फबाट लाखौं लाख खुशी व्यक्त गर्दछु।
अन्त्यमा, मातृभाषा केन्द्र नेपाल र SIL International ले पश्चिमी तामाङ भाषामा एक ऐतिहासिक दस्तावेजको रूपमा “पश्चिमी तामाङ शब्दकोश” निर्माण गर्ना लागेकोमा म बौद्ध शान्ति अभियान संघ नेपालको तर्फबाट अन्तरहृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु। साथै भाषिक विकास र सृजनाका क्षेत्रमा निरन्तर निश्वार्थ भावनाले लागि रहने सम्पूर्ण पुस्तक सम्पादन समूह तथा मातृभाषा केन्द्र नेपाल र SIL International लाई थप परिष्कृत सिर्जनाको शुभकामना दिन चाहन्छु।
- धन संह लामा
केन्द्रीय सचिब
बौद्ध शान्ति अभियान संघ, नेपाल